काठमाडौँ। हिजो शनिवारका दिन सडक विभाग अगाडि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरीले ट्रकमा फोहोर लगेर उपहार स्वरूप भन्दै फालिदिएको थियो ।

उक्त फोहोर फालिदिएसँगै विभागले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रतिकारको चेतावनी दिएको छ । चक्रपथ निर्माणमा भएको ढिलासुस्तीले प्रदूषण बढेको भन्दै शनिवार महानगरपालिकाले विरोध स्वरुप विभागअगाडिको भागमा ट्रकमामा फोहोर लगेर फालिदिएको थियो ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘सडक डिभिजन काठमाडौँको कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्न समेत सडक डिभिजन बाध्य हुने ब्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

मिनभवनस्थित कार्यालयको गेटमा कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विज्ञप्तिमा उल्लेख छ । ‘काठमाडौँ जिल्ला भित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ’, विज्ञप्तिमा भनिएको छ ।

न्यूरोड क्षेत्रमा सडक डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको स्ट्यान्डर्ड चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको पाइएपछि रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई बालेनले यस्तो हर्कत गरेको विज्ञप्तिमा आरोप लगाइएको छ ।