काठमाडौँ । उच्च जोखिमको सूचना जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने निर्णय भएको छ ।

आज गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो। जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरिएको छ ।

गृह मन्त्रालयका अनुसार यसको कार्य तालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको जनाएको छ । यो निर्णय अनुसार बाढी–पहिरो आउन सक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी चलाउन नपाइने भएको छ ।

यसअघि सुरुमा गृहले बर्खा यामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो । तर यातायात व्यवसायीले उक्त कुरा वैज्ञानिक नभएको बताएको भन्दै असन्तुष्टि जनाएका थिए ।

साथै अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ । पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको छ ।