काठमाडौँ । समग्र अर्थतन्त्रमा देखिएको मन्दीको असर घरजग्गा कारोबारमा समेत देखिएको छ । सरकारी तथ्याङ्क अनुसार अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सकारात्मक देखिए पनि व्यावसायिक वातावरण बन्न भने सकारात्मक बन्न सकिरहेको छैन ।

अर्थतन्त्रमा सुधारका केही सङ्केतहरू आएपनी घरजग्गामा आशातीत उपलब्धि हासिल हुन नसकेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्षमा भेषराज लोहनीले बताएका छन् । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले सूचकहरू सकारात्मक हुँदाहुँदै पनि घरजग्गा कारोबार पहिलेकै अवस्थामा आउन नसकेको लोहनीको भनाई छ ।

अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा घरजग्गाबाट प्राप्त हुने राजस्व केही मात्रामा बढे पनि कारोबारमा भने गिरावट आएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/८१ को माघ महिनाबाट स्थिर रहेको कारोबार जेठ महिनामा उल्लेख्य रूपमा बढेको भएपनी असारमा भने खुम्चिन पुगेको छ । असारमा देशभर ४६ हजार १ सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको तथ्याङ्कमा उल्लेख छ ।

यो संख्या गत वर्षको सोही महिनाको तुलनामा भने सामान्य बढेको हो । गत वर्ष असारमा पनि देशभर ४४ हजार चार सय ८५ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । जेठमा देशभरबाट ६१ हजार १ सय ६१ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो ।

घरजग्गा कारोबारका लागि असार महिना ‘अफसिजन’ भएकाले कारोबारमा गिरावट आएको एनएचएलडिएफका अध्यक्ष लोहनीले आर्थिक भ्वाईसलाई जानकारी दिएका छन् । “घरजग्गाका लागि कात्तिकदेखि जेठसम्म मात्रै सिजन हो, बाँकी अफसिजन हो,” उनले भने,

नेपाल राष्ट्रबैंकले भोली शुक्रवारका दिन मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको छ । राष्ट्र बैङ्कको नीतिका कारण घरजग्गा कारोबार सङ्कुचित भएको आरोप लगाउँदै अध्यक्ष लोहनीले आगामी दिनमा घरजग्गाको कारोबारमा सुधार ल्याउन राष्ट्र बैंक नै लचिलो हुनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रबैंकले शुक्रवार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ यहाँहरूको अपेक्षा के हो ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् ”घरजग्गा कारोबारमा सुधार ल्याउने हो भने पहिलो विषय सरकारले कर्जा आम्दानीको अनुपात र लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्‍याउन जरुरी छ ।  हाल नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ६० प्रतिशत छ । अहिलेको समयमा यसलाई बढाएर न्यूनतम ८० प्रतिशत नै पुर्‍याउनु पर्छ भन्ने हाम्रो माग हो ।”

गत साउनमा राष्ट्र बैंकले पहिलो घर बनाउन चाहनेले अधिकतम २ करोड रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरेको थियो । यसअघि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था थियो । रियल इस्टेट कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशत पुर्याएपनि यसलाई सय प्रतिशत पुर्‍याउनुपर्ने हाम्रो माग हो ।

उनले आफ्नो भनाइमा थप गर्दै भने सामान्य घरजग्गा व्यवसायी र प्रोजेक्टमा आधारित व्यवसायीले लिने कर्जाको मासिक किस्ता आम्दानी क्रमशः ५० र ६० प्रतिशत रहेको छ यसलाई पनि ८० प्रतिशत पुर्‍याउनुपर्ने हामीले आज मात्रै हैन पहिलेदेखि नै माग राख्दै आएका छौ ।  यसो गर्दा घरजग्गा कारोबार बढेसँगै समग्र अर्थतन्त्रमै प्रभाव पर्ने देखिन्छ लोहनीले भने ।

यता जेठ महिनाको तुलनामा कारोबार घटे पनि असारमा भने राजस्वमा उल्लेख्य वृद्धि भएको देखिन्छ । असारमा सरकारलाई घरजग्गा कारोबारबाट ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । गत असारमा ४ अर्ब २७ करोड ४३ लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो । यसर्थ यो गत असारको तुलनामा ७.३३ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष ०८०/८१ भर देशभरको मालपोत कार्यालयबाट ४२ अर्ब ३७ करोड ४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २.८६ प्रतिशतले धेरै हो । आव ०७९/८० मा देशभरको मालपोत कार्यालयबाट ४१ अर्ब १५ करोड ७९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।