काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि ७ लाख ४१ हजार २ सय ९७ जना नेपालीले देश छोडेका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (२०८०/८१) मा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर उक्त सङ्ख्यामा नेपाली बाहिरिएका हुन्। जसमा ४ लाख ६० हजार १०२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने दुई लाख ८१ हजार १९५ जनाले श्रम नवीकरण गरेका छन् ।
उक्त समयावधिमा कुल बाहिरिने नेपाली श्रमिक मध्येमा ६ लाख ६१ हजार १२५ जना पुरुष श्रमिक छन् भने ८० हजार १७२ जना महिला श्रमिक रहेका छन् । त्यस्तै असार महिनामा मात्रै ५८ हजार ७३६ जना बाहिरिएका छन् । असारमा बाहिरिने मध्ये ५२ हजार १२५ जना पुरुष छन् भने ६ हजार ६११ जना बाहिरिएका छन् ।
आर्थिक वर्षमा युएईको लागि मात्रै झण्डै २ लाख नेपालीले श्रम स्वीकृति लिएका छन्। एक वर्षमा १ लाख ९३ हजार ४३८ जनाले श्रम स्वीकृति लिएका हुन् । यस्तै, युएई पछि दोस्रो रोजाइमा साउदी अरेबिया रहेको तथ्यांकमा उल्लेख छ । एक वर्षमा साउदी अरेबियाको लागि १ लाख ४१ हजार ५०२ जनाले श्रम स्वीकृति लिएका छन्।
त्यस्तैगरी कतारको लागि १ लाख ३४ हजार ६६९ जनाले श्रम स्वीकृति लिएका छन् भने मलेसियाको लागि १ लाख ३ हजार ४४२ जना, कुवेतको लागि ४० हजार ३६८ जना, रोमानियाको लागि १ हजार २१ जनाले श्रम स्वीकृति लिएका छन् ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा गिरावट आएको छ । वैदेशिक रोजगारीका लागि बिदेशिनेको सङ्ख्या ३.८८ प्रतिशतले घटेको हो ।
२०७९/८० मा सात लाख ७१ हजार ३२७ जना काम खोजीमा बाहिरिएका थिए भने २०८०/८१ मा सात लाख ४१ हजार ३९७ जनाले श्रम स्वीकृति लिएका छन् । २०७९/८० को तुलनामा २०८०/८१ मा ३.८८ प्रतिशत (२९ हजार ९३) जना श्रमिक बाहिरिएको वैदेशिक विभागको तथ्यांकले देखाएको छ ।







