काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच कम्पनीका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता भएपश्चात् कम्पनीमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई कम्पनीको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने भएको छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने भएको हो ।

हाल बैंकको आधार दर ६.६६ प्रतिशत रहेको छ । सम्झौता अनुसार कम्पनीका कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झौता पश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

उक्त अवसरमा कम्पनीका विभागीय प्रमुखहरू डिल्लीराज लम्साल, घनश्याम अर्याल, अधिकृत राम सफल साह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाल लोहनी, उप कार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय थापाथलीका शाखा प्रबन्धक विक्रममान श्रेष्ठ, लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।