काठमाडौँ। गृह मन्त्रालयले मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको जनाएको छ। मन्त्रालयले देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको जनाएको छ। सैनिक,सशस्त्र, प्रहरी तथा स्वयंसेवकहरूबाट बिहीबार बिहानसम्म प्रभावितहरूको उद्धार गरेका हुन् ।
बाढी र पहिरोबाट घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरूमा निःशुल्क उपचार भइरहेको छ, भने २२ जना अझै बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकाबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेस प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ ।
गृहमन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाला निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेको सचिवालयले जानकारी दिएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपदमा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बापत राहत रकम उपलब्ध गराउन थालिएको छ ।
सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपदमा परेका नागरिकहरूको सहजी करणका लागि कार्यदल खटाएको छ ।







