काठमाडौँ । अबदेखि चलचित्र हलभित्र पानी र अन्य खानेकुराको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढीमा बिक्री वितरण गर्न नपाइने भएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली परिचालन गरिएको जनाउँदै आगामी दिनमा मूल्य बढाएर नबेच्न समेत विभागले आग्रह गरेको छ ।

सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ । ‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो’ छलफलपछि विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।