काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६.११ प्रतिशतले निर्यात घटेको छ।
चालु आवको साउनदेखि असोज मसान्तसम्ममा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसबाट नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ घाटा भएको छ ।
गत आवको तीन महिनाको तुलनामा ३.९६ प्रतिशतले कम हो । साउनदेखि असोजसम्मको अवधिमा नेपालले ३ खर्ब ९० अर्ब ७२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।
असोज महिनामा मात्रै नेपालले कुल १ खर्ब २८ अर्ब २० करोड ९६ लाख ९५ हजार रुपैयाँ बराबरको आयात गरिएको छ । गत आवको असोज मसान्तसम्ममा भने नेपाल कुल ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
चालु आवको तीन महिनामा कुल ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । तर, आयातको तुलनामा निर्यात ज्यादै न्युन हुँदा व्यापार घाटा भने ठुलो मात्रामा देखिएको छ ।







