काठमाडौं । जीवन बीमा कम्पनीहरूको कूल बीमा शुल्क आर्जन वैशाखको तुलनामा जेठमा ११ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । वैशाख मसान्तमा बीमा कम्पनीहरूले कुल रू. ९ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेका थिए । जेठमा कम्पनीहरूले रू. १० अर्ब ४३ करोडको बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार जेठमा ११ कम्पनीको बीमा शुल्क आर्जन बढेको छ भने बाँकी चार कम्पनीको बीमा शुल्क आर्जन घटेको छ । तीमध्ये नेशनल लाइफ इन्स्यारेन्स कम्पनीको बीमा शुल्क आर्जन सबैभन्दा बढी ६३ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले वैशाखमा रू. १ अर्ब २ करोड बीमा शुल्क आर्जन गरेको थियो । जेठमा भने कम्पनीको बीमा शुल्क आर्जन रू. १ अर्ब ६७ करोड पुगेको छ ।
यो सूचीमा दोस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स छ । कम्पनीको बीमा शुल्क आर्जन वैशाखको तुलनामा जेठमा ३२ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । वैशाखमा यस कम्पनीले रू. ३४ करोड ५ लाख बीमा शुल्क आर्जन गरेकोमा जेठमा कम्पनीले रू. ४५ करोड १७ लाख बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रो नम्बरमा मेट लाइफ इन्स्योरेन्स रहेको छ । गत महिनाको तुलनामा कम्पनीको कुल बीमा शूल्क २५ प्रतिशतले बढेको छ । कम्पनीले जेठ महिनामा ४९ करोड ९० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।
समिक्षा अवधिसम्ममा सूूर्यज्योति लाइफ, नेपाल लाइफ, प्रभु लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ र सिटिजन लाइफलको बीमा ब्यवसाय गत महिनाको तुलनामा बढेको छ ।
यसका साथै, गत महिनाको तूलनामा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय सर्वाधिक घटेको छ । कम्पनीले वैशाख मसान्तसम्ममा रू. ४७ करोड ८३ लाख बीमा शुल्क आर्जन गरेकोमा जेठमा उक्त रकम रू. २८ करोड ५९ लाखमा झरेको हो ।
त्यस्तै, एशियन लाइफ, हिमालयन लाइफ र महालक्ष्मी लाइफको बीमा व्यवसाय गत महिनाको तुलनामा घटेको छ ।