काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा फेरि पनि उद्योगहरूको लाइन काट्न सुरु गरेको छ ।
प्राधिकरणले बिहीबार साँझ ८ बजेबाट विभिन्न उद्योगहरूको लाइन काट्न थालिएको हो । बक्यौता महसुल भुक्तानीको लागि समयदिदा समेत उचित भित्र महसुल तिर्न अटेर गरेका उद्योगहरूको लाइन काट्न थालिएको प्राधिकरणको भनाई छ ।
प्राधिकरणले अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको हो ।
बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठक अनिर्णीत बनेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीहरूसँग छलफल गरेका थिए । छलफलमा घिसिङले आफ्नो पुरानो कुरा दोहोराउँदै उद्योगीहरूलाई बक्यौता तिर्न आग्रह गरेका थिए ।
उद्योगीले भने पुरानै कुरा दोहोराउँदै बिजुली खपतको प्रमाण दिन भनेपछि घिसिङले भने बिल काटिसकेको र नाफा जोडिसकेको बताउँदै किस्ता किस्तामै भए पनि तिरिदिन आग्रह गरेका थिए ।
यद्यपि व्यापारीले भने विद्युत् उपभोग गरेको बिल दिएमा किस्ता किस्ता नभई एक पटक पैसा तिर्ने बताएका थिए । त्यसपछि घिसिङले आफैँले काटेको बिल सच्याउन नसक्ने बताएका थिए । उनले बक्यौता जसरी पनि तिर्नुपर्ने ढिपी गरेपछि छलफल निष्कर्षविहीन बनेको थियो । कार्यकारी निर्देशक घिसिङले बिहीबार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने भनाई समेत राखेको थिए । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि निर्णय नआएपछि लाइन काट्न सुरु गरेका हुन्।
गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिकसम्मको म्याद दिएको थियो । तर, प्राधिकरणले बिल दिएको तर विद्युत् प्रयोगको प्रमाण नदिएको भन्दै सो बक्यौता नतिर्ने अडानमा उद्योगीहरू छन् ।
यसअघि पनि दुई पटक लाइन काटिएको थियो । पछि विवाद समाधान गर्ने भन्दै लाइन जोडिएको थियो । विवाद समाधान गर्ने विषयमा पहल भए पनि समाधान भइसकेको छैन ।







