काठमाडौँ । सरकारले आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ । जस अनुसार मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति भएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश बमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरे बमोजिमको शुल्क लिई मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाललाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।
साथै, स्वीट्जरल्याण्ड सरकारबाट सुरक्षित आप्रवासन चौथो चरण कार्यक्रमका लागि प्राप्त हुने करिब १ अर्ब ७६ करोड ९७ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको सिफारिसका लागि गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय भएको हो ।
साथै, बैठकले कपिलवस्तु निवासी पूर्ण बहादुर नेपालीलाई श्रीलंकाको लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिएका छन् ।








