काठमाडौ । पछिल्लो केही समययता नेपालमा केवलकारहरुमा गर्ने लगानीमा बृद्धि भैरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार नेपालमा हालसम्म ८ वटा केबलकार सञ्चालनमा रहेका छन् भने थप ६ वटा केबलकार निर्माण हुने क्रममा रहेका छन् ।

मनकामना, चन्द्रागिरि, अन्नपूर्ण, कालिञ्चोक, मौलाकालिका, लुम्बिनी, बन्दीपुर र सिद्धार्थ केबलकार सञ्चालनमा आइसकेका छन् । पाथिभरा, सुदूरपश्चिमको जलपादेवी, कास्कीको सिकलेस, तनहुँको छिम्केश्वरी, काठमाडौंको चाल्नाखेल र पोखरा मुक्तिनाथ केबलकार परियोजना निर्माणको चरणमा रहेका छन् ।

आइपिओ जारी गर्ने तयारीमा यी केवलकार कम्पनी
कुनै पनि प्राइभेट वा पार्टनरशिप फर्म निरन्तर वृद्धि हुँदै जादा धेरै पूँजीको आवश्यकता परेको खण्डमा कम्पनीले अतिरिक्त पूँजी प्राप्त गर्नका लागि आफ्नो शेयर जनतालाई बिक्री गर्न निष्काशन गर्ने गर्दछन् । त्यसका लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचीकृत हुनुपर्ने प्रावधान रहेको छ । पछिल्लो समय केवलकारहरुमा मानिसको रुची बढ्दै गएपछि धेरै कम्पनीहरुले आइपिओ जारी गर्ने तयारी गरिरहेका छन् ।

करिब ३ अर्ब लागतमा निमार्ण भएको नेपालकै दोस्रो केवलकार चन्द्रागिरि केबलकार पनि आइपिओ निष्कासन गर्नका लागि नेप्सेमा सुचीकृत भएको छ । २०७३ देखि व्यवसायिक रुपमा सञ्चालनमा आएको यो केवलकार चन्द्रागिरी हिल्स लिमिटेडको नामले नेप्सेमा सूचीकृत भएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९०९ कित्ता सेयर सर्वसाधारणमा जारी गरेको छ । यस्तै करिब ४५ करोड रुपैयाँको लागतमा दोलखामा सञ्चालनमा रहेको कालिन्चोक केबलकार परियोजना पनि नेप्सेमा सुचीकृत भएको छ । २०७५ कात्तिकदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको यो परियोजना कालिन्चोक दर्शन कम्पनीका नामले नेप्सेमा सूचीकृत रहेको छ । करिब ६० करोड चुक्ता पुजीँ रहेको यस कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर जारी गरेको हो ।

यसैबीचमा ३ ओटा केवलकार कम्पनी नेप्सेमा सुचीकृत हुने तयारीमा रहेका छन् । कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबलकार र तनहुँको बन्दीपुरमा निर्माण भएको बन्दीपुर केबलकार पनि नेप्सेमा सुचीकृत हुने तयारीमा रहेका छन् ।
करीब २ अर्ब रुपैयाँ लागतमा निर्माण भएको अन्नपुर्ण केवलकार अन्नपूर्ण केबलकार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्नका लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले कुल ३१ लाख कित्ता अर्थात ३१ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति माग्दै १ वर्ष अगाडि नै बोर्डमा पुगेको हो ।

यस्तै तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण भएको बन्दीपुर केबलकार पनि आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डको अनुमति माग गरेको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले ३० करोड ६० लाख रुपैयाँ बराबरको ३० लाख ६० हजार कित्ता आइपीओ जारी गर्ने अनुमति माग गरेको छ ।

यता प्रभु केबलकार एण्ड टुरिजमले पनि सार्वजनिक सेयर निष्कासन (आइपीओ) जारी गर्ने तयारी गरेको छ । प्रभु केबलकारले ३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने तयारी गरिरहेको बताइएको छ । यसबाहेक गैडाकोटमा मौलाकालिका, लुम्बिनीमा लुम्बिनी केबलकार पनि सञ्चालनमा रहेका छन् । गैडाकोटमा रहेको गैडाकोट केवलकार नेपालको पाँचौं केवलकार हो भने यसमा आइएमई समूहको लगानी रहेको छ । यस्तै लुम्बिनी प्रदेश लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी केबलकार कुल ५ अर्ब लागतमा निर्माण भएको हो । जुन नेपालको छैठौं केवलकार हो ।

निर्माण तयारीमा रहेका केबलकारहरु
नेपालको भौगोलिक अवस्थितिका लागि केबलकार सबैभन्दा उपयुक्त र प्रभावकारी विकल्प बन्ने देखिएसँगै केबलकार निर्माणमा खर्बौ रुपैयाँ लगानी हुन थालेको छ । नेपालमा पूर्वदेखि पश्चिमसम्म थप ६ वटा केवलकार निर्माणको तयारीमा रहेका छन् । राष्ट्र बैंकका अनुसार ७७ अर्ब लगानी अनुमान गरिएका ६ वटा केबलकार परियोजना निर्माणको तयारीमा रहेका छन् । ताप्लेजुङको पाथिभरा, सुदूरपश्चिमको जलपादेवी, कास्कीको सिकलेस, तनहुँको छिम्केश्वरी, काठमाडौंको चाल्नाखेल र पोखरा मुक्तिनाथ केबलकार परियोजना निर्माणको चरणमा रहेका छन् ।

पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट मन्दिरसम्म आइएमई ग्रुपको करीब २ अर्ब ५५ करोड लागतमा २.७४ किलोमिटर दूरीमा केवलकार बन्न लागेको हो ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आएमई ग्रुपको करिब सात अर्ब लगानीमा सुदूरपश्चिमको चिसापानीमा पनि जालपादेवी केबलकार निर्माण हुन लागेको छ । चिसापनीदेखि राजकाँडासम्म केबलकारको कूल लम्बाई ३.१ किलोमिटरको रहने छ।

यता पर्यटकीय जिल्ला कास्कीमा थप एक केवलकार निर्माण भैरहेको छ । अन्नपूर्ण केवलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा ६.४१ किलोमिटर लामो केवलकार निर्माण गरिरहेको छ । जसको कुल लागत ६ अर्ब ९० करोड ३७ लाख अनुमान गरिएको छ ।

यस्तै तनहुँको छिम्केश्वरीमा पनि करिब तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो ।

यता काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार निर्माण भैरहेको छ । चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले निर्माण गरिरहेको यो केवलकारका लागि करिब ६ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।
यस्तै पोखराको नयाँपुलबाट मुक्तिनाथ मन्दिरसम्म पुग्नको लागि पनि केबलकारको निर्माण गरिदै छ ।

मुक्तिनाथ दर्शन केबलकार आयोजनाले ८४ किलोमिटर लामो केबलकार दुरीको केबलकार निर्माण गरिरहेको छ । जसका लागि करिब ५० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।