काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेराउ गर्ने भएका छन् । सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
यसअघि संघीयता विरोधी गतिविधि गर्ने संघीय (केन्द्र) सरकार विरुद्ध गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले चेतावनी दिएका थिए । संघीय मर्म विपरित संघीय सरकारले प्रदेश र स्थानीय तहमा जाने अनुदानको पैसा रोकेको भन्दै बुधबार अर्थमन्त्रीलाई चेतावनीपूर्ण पत्र लेखेका थिए ।
मन्त्रालयको चलानी नम्बर १२१ को २०८० बैशाख महिनाको १४ गतेको पत्र अनुसार प्रदेश र स्थानीय तहमा पठाउनु पर्ने वित्तीय समानिकरण अनुदान मध्ये अन्तिम किस्ताको ५० प्रतिशत रकम निकासा भएपनि बाँकी ५० प्रतिशत रकम निकासा नभएको गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघको भनाइ थियाे ।
मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयलाई पुनर्विचार गरी २०७९/८० को बजेटमा व्यवस्था गरेको रकम तत्काल फुकुवा गर्न उनीहरुले माग गरेका छन् ।
सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस बर्ष देखी कटौती गरेपछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए ।