काठमाडौं। ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताएका छन् ।

‘इण्डिया इनर्जी वीक- २०२५’ मा भाग लिएर स्वदेश फर्किएका ऊर्जामन्त्री खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको जानकारी दिएका छन् । उनले सिंचाईतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुंगो लगाउने बारे छलफल भएको बताए । साथै उनले कोशीको विषयमा पनि केही छलफल भएको जानकारी दिएका छन् ।

दुई देशबीचको सिंचाई ब्यवस्थापनको बैठक हुन नसकेको अवस्थालाई चिर्दै यहीँ २२-२४ फेब्रुवरीमा छलफल गर्ने सहमति भएको बताए । दुई देशबीच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०/५० प्रतिशत हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा दुविधा हुने भएको अवस्थालाई मध्यनजर गरेर नेपालकोतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत सहमति भएको बताए ।

बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको मन्त्री खड्काको दाबी छ । अबका वर्षहरुमा कार्बन शुन्य उत्सर्जनको लक्ष्य लिएको र सोहीअनुसार कार्बन ब्यापारको रकम प्राप्त गर्ने बताए ।

मन्त्री खड्काले भारत भ्रमण उपलब्धिमुलक रहेको र दुई देशबीचका सम्बन्ध अझ प्रगाढ भएको बताए । उनले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरुसँग भेट गरेको र ठूला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिए । उनले भारतीय उर्जामन्त्री मनोहरलाल खट्टर चाँडै नेपाल आउने जानकारी दिए ।

‘हामीले १० वर्षभित्र भारतमा १० हजार र बङ्गलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने भनिरहेका छौँ, त्यसका लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणका लागि महत्त्वपूर्ण सहमति भएको छ, सहमति भएको प्रसारण लाइन निर्माण हुँदा हामीले भारत र बङ्गलादेशमा १७/१८ हजार मेगावाट विद्युत् निर्यात गर्न सक्छौँ,’ उनले भने । जुन उद्देश्य राखेर बंगलादेशसँग पनि विद्युत् व्यापार गर्न थालिएको थियो यसलाई अगाडी बढाउने आधार मिलेको र यसले चाँडै नै मूर्तरूप लिने उनको भनाइ छ ।