काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्ता अर्थात् वैशाख ११ गतेदेखि सञ्चालन गर्ने तयारी पूरा गरेको छ । यो परीक्षा २४ गतेसम्म चल्नेछ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ र यो तालिका साधारण र परम्परागत धारतर्फका नियमित र आंशिक विषयका विद्यार्थीहरूका लागि लागू हुनेछ।
बोर्डले सार्वजनिक गरेको वार्षिक कार्य तालिका अनुसार कक्षा ११ को वार्षिक परीक्षा भने १२ को सकिए लगतै २०८२ जेठ मसान्तभित्र सञ्चालन गरिसक्नु पर्ने उल्लेख गरेको छ । कार्य तालिकामा कक्षा १२ को पुरकपरीक्षा २०८२ भदौ २० गतेदेखि सञ्चालन गर्ने भनिएको छ । यसैगरी कक्षा १२ को नतिजा साउन १५ गतेभित्र र पुरक परीक्षाको नतिजा कार्तिक १५ गते भित्र सार्वजनिक उल्लेख गरिएको छ ।
यता विद्यालय शिक्षा ऐनको मुख्य माग लिएर आन्दोलन गरिरहेका शिक्षकहरूले सडक संघर्ष जारी राखेको कारण परीक्षा प्रभावित हुने सम्भावना बढेको छ । शिक्षकहरूले परीक्षा व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरिसकेका छन् । यसले गर्दा बोर्डले निर्धारण गरेको तालिका अनुसार परीक्षा सञ्चालनमा अन्योल सिर्जना भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आन्दोलन यथावत् रहेमा परीक्षा प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । बोर्डले परीक्षा सञ्चालनका लागि तयारी पूरा गरेको जनाएको छ । कक्षा १२ को परीक्षा उच्च शिक्षाको प्रवेशद्वार मात्र नभई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको कारण परीक्षा रोकिन गएमा ठुलो प्रभाव पर्ने बोर्डको भनाई छ ।
बोर्डका अनुसार करिब पाँच लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिने तयारी गरेका छन् । शिक्षकहरूले आफ्नै विद्यार्थीको परीक्षा अवरुद्ध गर्ने काम नगर्ने विश्वास राष्ट्रिय परीक्षा बोर्डले व्यक्त गरेको छ ।
परिक्षा तालिका








