काठमाडौँ । राष्ट्र बैंक गभर्नरविहीन भएको एक महिना नाघेको छ । महाप्रसाद अधिकारी पदावधि सकिएर २४ चैतमा अवकाशमा गएपछि राष्ट्र बैंकमा गभर्नरको पद रिक्त छ । राष्ट्र बैंक ऐनअनुसार पदावधि सकिनुभन्दा एक महिना अगावै नयाँ गभर्नर सिफारिस गर्नुपर्नेमा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सरकारले बनाएको गभर्नर सिफारिस समितिको बैठकसमेत बस्न सकेको छैन ।

महिना दिन बितिसक्दा समेत गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेपछि सरकारको आलोचना चुलिएको समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले भने ढिलाइको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका नरहेको बताएका छन् ।

आज (मंगलबार ) नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै  देउवाले गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीका कारण ढिलाइ नभएको बताएका छन्।

गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट गर्दै गर्भनर नियुक्तिमा ढिलाइ हुनुको कारण राष्ट्र बैकभित्रकै समस्या भएको उनको देउवाको भनाई छ । देउवाको भनाइले समस्या भने रहेको स्पष्ट भएको छ । तर, त्यो समस्या कानुनी होइन, व्यक्ति छनोटमा हो । देउवा गभर्नर राष्ट्र बैंकमै कार्यरत डा.गुणाकर भट्टलाई गभर्नर बनाउन चाहन्छन् ।

उनको नाममा प्रधानमन्त्री र देउवाबिच सहमतिसमेत भइसकेको यसअघि नै सार्वजनिक भइसकेको छ । तर अहिले परिस्थिति भने भट्ट अनुकूल छैन । त्यसैलाई देउवाले राष्ट्र बैकभित्रकै समस्या भनेका हुन् । यो समस्या राष्ट्र बैंक ऐनका कारण उत्पन्न भएको हो ।

भट्ट राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । देउवाबाट गभर्नर बन्ने पक्का वचन पाएपछि उनले ५ वैशाखमा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, हाल कार्यवाहक गभर्नर रहेकी निलम ढुंगानाले उनको राजीनामा स्वीकृत गरेकी छैनन् ।