काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी श्रावण २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ को लागि बुकिंग खुल्ला गरेको छ ।
प्रदर्शनी स्टल राख्न चाहनेहरूले वैशाख २२ देखि २९ गते (सन् २०२५ मे ५ देखि मे १२) सम्म बुकिंग गर्न सकिने जनाइएको छ । इच्छुक कम्पनीहरूले आफ्नो आवश्यकतानुसार बुकिङ फारम भर्न सक्ने र अन्तिम स्टल बाँडफाँट लटरी प्रणाली मार्फत पारदर्शी ढंगले गरिने नाइमाले जारी गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ । दुई र चार पाङ्ग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारीसाधन का लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ ।
“नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ”, नाइमा की संस्थापक अध्यक्ष रितु सिंह वैद्यले बताइन् । “हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं”, उनले थपिन् ।
प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास लिएको आयोजकले जनाएको छ ।
अटोमोबाइल क्षेत्रमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ र उद्योगीहरूलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने विश्वास पनि आयोजकले लिएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा काम गर्ने जनाएको छ । यसले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ ।







