काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८१, दफा १७ (क) को नियम अनुसार सञ्चालक समितिका सदस्य, आधारभूत शेयरधनी तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको हो ।
काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक शाम्बराज लामिछाने तथा उप निर्देशक सविता थापाले प्रशिक्षण प्रदान गरेका थिए । सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापले वित्तीय संस्थालाई पार्नसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षणमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली र निर्देशन बमोजिमको कार्य प्रभावकारी रूपमा गर्न गराउन, आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति र साधन श्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत सञ्चालक समितिको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यास र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा तर्जुमा गरिएको सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन तथा नियमावलीमा व्यवस्था भएको दायित्व पूरा गर्ने उल्लेख गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्त्वमा प्रकाश पार्दै कम्पनीका सबै कर्मचारी र तहमा यसलाई अक्षरसः पालना गरिने स्पष्ट पारे । साथै निर्देशिकाको पालनमा आफूहरूले कुनै कसर बाँकी नराख्ने कुरा समेत उनले व्यक्त गरे ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले गत वर्षदेखि प्रत्येक माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाउने निर्णय गरेको छ ।







