काठमाडौँ । पहिलो नौ महिनामा लामो समयदेखि सुस्त रहेको कर्जा प्रवाहमा सुधार देखिएको छ । घरजग्गा क्षेत्रमा जाने कर्जा बढ्न थालेको राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्यांकमा उल्लेख छ ।

नौ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई कुल ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.१ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष यो वृद्धि दर ४.६ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ मात्र थियो ।

वार्षिक बिन्दुगत आधारमा हेर्दा भने २०८१ चैत मसान्तसम्म कर्जा प्रवाह ८.३ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये ६३.४ प्रतिशत कर्जा गैर–वित्तीय संस्थागत क्षेत्रमा र ३६.६ प्रतिशत कर्जा व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाहित भएको छ ।

पछिल्लो समय अन्य केही क्षेत्र जस्तै घरजग्गा खरिद बिक्रीमा समेत सुधार आएको छ । यस क्षेत्रका लागि बैंकहरुमा समेत कर्जाको माग बढ्न थालेको देखिन्छ । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने ऋण लगानीमा ११ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा कुल २ खर्ब ७९ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरुले २ खर्ब ५२ अर्ब २० करोड ६३ लाख रुपैयाँ यस क्षेत्रमा कर्जा प्रवाह गरेका थिए ।

चालु आवको ९ महिनामा मात्रै यस क्षेत्रमा ११ अर्ब ७५ करोड ५४ लाख रुपैयाँ कर्जा गएका देखिन्छ । समीक्षा अवधिमा व्यक्तिगत घर कर्जा, कमर्सियल घरजग्ग तथा ठुलो प्रोपर्टी किनबेचमा पनि लहर चलेको देखिन्छ। कमर्सियल कम्प्लेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कर्जा, कमर्सियल जग्गा खरिद तथा प्लटिङ्गमा जाने कर्जामा पनि व्यापक रूपमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २ करोडसम्मको व्यक्तिगत आवासीय घर कर्जा पनि ५.३ प्रतिशत वृद्धि भएको छ । गत चैत मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत घर घडेरी खरिदका लागि ४ खर्ब ७ अर्ब १३ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो गत आवको तुलनामा ५.३ प्रतिशत बढी हो । गत आवको सो अवधिसम्ममा भने ३ खर्ब ८६ अर्ब ७५ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

त्यस्तै, नौ महिनाको अवधिमा औद्योगिक उत्पादन क्षेत्रमा ९.६ प्रतिशत, निर्माण क्षेत्रमा ११.४ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १०.२ प्रतिशत, सेवा उद्योगमा ८.६ प्रतिशत र उपभोग्य क्षेत्रमा ८.३ प्रतिशतले कर्जा प्रवाह बढेको देखिन्छ ।

कर्जाको प्रकृतिअनुसार हेर्दा, आवधिक कर्जा ४.९ प्रतिशत, मार्जिन कर्जा ३७.८ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ६०.६ प्रतिशत, हायर पर्चेज कर्जा ४.१ प्रतिशत, नगद प्रवाह कर्जा ५.२ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासहित) ४.९ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले हाल व्यक्तिगत आवासीय कर्जाको सीमा २ करोड रुपैयाँसम्म पु¥याएको छ । त्यसपछि घर कर्जाप्रति चासो उल्लेखनीय रूपमा बढेको छ। यसअघि १ करोड ५० लाख रुपैयाँ सीमित कर्जालाई राष्ट्र बैंकले नीति परिवर्तन गर्दै २ करोडसम्म विस्तार गरेको हो।