काठमाडौँ। प्रतिनिधिसभाको सोमबारको बैठकले जलस्रोत विधेयक, २०८१ लाई बहुमतले पारित गरेको छ। यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस भनी सभामा प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत जलस्रोत विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले यस विधेयकले जलको प्रयोग, सदुपयोग र संरक्षण एवं समुचित बाडँफाँटको विषयमा केन्द्रित भएर काम गर्ने र यसको सम्पूर्ण जिम्मेवारी जल तथा ऊर्जा आयोगलाई दिइने व्यवस्था गरेको बताए ।
मन्त्री खडकाले भने, ‘विधेयकले जलको लाभ र हानिको विषय समेटेको छ । आयोगले विधेयक पारित भएपश्चात् विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्नेछ, यसले जलको न्यायोचित बाँडफाँटमा सहयोग पुग्नेछ ।’
यसअघि उक्त विधेयकमाथिको छलफलमा सांसदहरु दिलेन्द्रप्रसाद बडू, माधव सापकोटा, डा अमरेशकुमार सिंह, किरणकुमार साह, सुनिता बराल, लक्ष्मी तिवारी, प्रेम सुवाल, हितराज पाण्डे, ठाकुरप्रसाद गैरे र लेखनाथ दाहालले धारणा राखेका थिए ।







