काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
राष्ट्र बैंकले आइतबार साँझ सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धि करिब ०.९४ प्रतिशत विन्दुले बढ्ने अनुमान गरेको हो। अघिल्लो वर्ष आर्थिक वृद्धि दर ३.६७ प्रतिशतमा सीमित थियो।
अघिल्ला दुई आर्थिक वर्षमा ऋणात्मक रहेको उत्पादनमूलक उद्योग, निर्माण, तथा थोक एवं खुद्रा व्यापार उप-क्षेत्रले चालु वर्षमा सकारात्मक वृद्धि गर्ने अनुमान गरिएको छ, जसका कारण समग्र आर्थिक वृद्धिमा सुधार आउने अपेक्षा गरिएको हो।
राष्ट्र बैंकका अनुसार, यसले आन्तरिक उत्पादन क्षमताको उपयोगमा सुधार भएको संकेत गर्छ। समीक्षा अवधिमा औसत मुद्रास्फीति ४.५७ प्रतिशतमा सीमित रहेको छ । पर्यटन क्षेत्र पनि पुनरुत्थानको दिशामा देखिएको छ भने थोक तथा खुद्रा व्यापारमा विस्तार आएको छ।
साथै, चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मध्यवर्ती उपभोग्य वस्तुहरूको आयात १७.८ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १०.३ प्रतिशतले घटेको थियो।







