काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट सकारात्मक र जन अपेक्षित रहेको प्रक्रिया मिलेको जनाएका छन् । साथै मन्त्री पौडेलले बजेटको कार्यान्वयन पनि सकारात्मक रूपमा हुने विश्वास गर्न आग्रह गरेका छन् ।

त्यस्तै, ६ प्रतिशतको वृद्धिदर हासिल सम्भव भएको उनका्े धारणा छ। शनिवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर ल्याइएको बताए।

अर्थमन्त्री पौडेलले लक्ष्य अनुसारको राजश्व संकलनको लागि थोरै मेहनत गर्न आवश्यक रहेको बताए। उनले भने, ‘काम नगरेको अवस्थामा लक्ष्य हासिल गर्न सकिँदैन । काम हुन्छ।’ उनले सार्वजनिक ऋण कति पुग्यो भनेर हिसाब गरेर बस्ने भन्दा पनि साँवा ब्याज तिर्नका लागि पुग्ने ऋण लिने गरी बजेट आएको बताए ।

उनले आर्थिक विज्ञबाट सकारात्मक सुझाव आएकाले आफू उत्साहित भएको बताए।  खर्च गर्नु पर्ने क्षेत्र पनि देखाउने र खर्च बढाएको भन्ने कुरा आफैँमा नमिल्दो रहेको उनको भनाइ छ । स्रोत परिचालन गर्न सकिने किसिमको बजेट आएको उनले बताए । अर्थमन्त्री पौडेलले साना–साना योजनामा बजेट लोड गरेर समस्या भइरहेको अवस्थामा बजेटले त्यसलाई समाधान गरेको बताए।

मन्त्री पौडेलले गत आर्थिक वर्षको र चालु आवको आर्थिक वृद्धिदर साथै मुद्रास्फीतिलाई आधार बनाएर बजेट ल्याएको बताए । निजी क्षेत्रलाई अघि बढाउनका लागि सरकार सधैँ तयार रहेको उनको भनाइ छ । ‘निर्माण क्षेत्रका समस्याका विषयमा पनि सरकारले समाधानका लागि काम गरेको छ । ऐन कानुनमा गर्नु पर्ने संशोधनका लागि पनि सरकार तयार छ ।’ उनले भने ।

वातावरणमा प्रभाव नपर्ने गरी खनिज पदार्थको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको र यो बजेटले त्यसमा ध्यान दिएको अर्थमन्त्री पौडेलको भनाइ छ ।