काठमाडौँ। संसदभित्रै बजेटको विरोध सुरु भएको छ । एकीकृत समाजवादीका सांसद अमर बहादुर थापाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदभित्रै बजेट पुस्तिका च्यातेर विरोध गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा सरकार उल्टो बाटोमा हिँडेको र जुम्ला जानका लागि दैलेखबाट ७९ किलोमिटर बाटो छोटो छ भन्दा भन्दै बजेट नहालिएको आरोप सहित थापाले बजेट पुस्तिका च्यातेका हुन्।
भौतिक पूर्वाधार मन्त्रालय उल्टो बाटो हिँडिरहेको देखिन्छ। दैलेख हुँदै जुम्ला जानलाई ७९ किलोमिटर बाटो फरक पर्छ भन्दा पनि सरकारले सुनेको छैन। भौतिक मन्त्रालयको बजेटले दैलेख मात्र नभएर धेरै जनतालाई सम्बोधन गर्न सकेको छैन । थापाले भने
दैलेख क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीको तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रहेका थापाले बजेट जनतामुखी नभएर नेतामुखी र मन्त्रीमुखी आएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् । सरकारले आर्थिक वर्ष २०८२/०८३ का १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ ।
चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च चार खर्ब सात अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा तीन खर्ब ७५ अर्ब २४ करोड रूपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको हो







