काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंककाे आज बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति  पारित गरेपछि आजै सार्वजनिक गर्ने बैंककाे तयारी छ ।

सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सरकारले गत जेठ १५ गते ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य, रोजगारी सिर्जना गर्नेदेखि मुलुकको वित्तीय तथा मौद्रिक नीतिको सुधार गर्नेगरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ ।

मौद्रिक नीतिले नीतिगत दर, बैंक दर र निक्षेप संकलन दर घटाउने श्रोतले जानकारी दिएको छ । यस्तै, २.५ करोड रुपैयाँ भन्दा कम मूल्यका घर र जग्गा कारोबारलाई चलायमान गराउने गरि लोन टु भ्यालू रेसियो र जोखिम भार कम बनाउने राष्ट्र बैंकको तयारी छ ।

मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ मा आर्थिक वर्ष सुरू भएको एक साता भित्र मौद्रिक नीति ल्याउनु पर्ने व्यवस्था छ ।