काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा आजदेखि (बुधवार) ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा शुरु भएको नाइमा एक्स्पोको पहिलो दिनको सुरुवाती चरणमै नयाँ गाडी लञ्चको होडबाजी चलेको छ ।
नाइमा एक्स्पो नयाँ तथा अत्याधुनिक सवारीसाधनको प्रदर्शनीसँगै विभिन्न कम्पनीबिच अफर र छुटको प्रतिस्पर्धाको केन्द्र बनेको छ । प्रदर्शनीमा सहभागी अटो मोबाइल कम्पनीहरूले आ–आफ्ना मोडेलमा आकर्षक छुट, सस्तो ब्याजदरमा फाइनान्स, एक्सचेन्ज अफर र विभिन्न गिफ्ट योजना प्रस्तुत गरेका छन् ।
एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी छन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिएको छ । जहाँ कम्पनीहरूबिच ‘सस्तो मूल्यमा उत्कृष्ट सुविधा’ को होडबाजी चलेको देखिन्छ ।
नाइमा एक्स्पोमा अग्नि ग्रुपले तीन वटा नयाँ गाडी लञ्च गरेको छ । जसमा दुई वटा ईभी (एक्स इभी–९ र बी–६) रहेका छन्। इन्जिनबाट चल्ने एक्सयुभी–३ एक्सओ पनि प्रदर्शनमा राखिएको छ। त्यस्तै, नाइमा एक्स्पोको स्टल नं.४ मा रहेको हुन्डाई गाडीमा नगद छुटदेखि विदेश भ्रमणसम्मको अफर छन् । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा लक्षित विशेष अफर ‘हुन्डाई असम अगस्ट’ योजना ल्याएको छ ।
नाइमा एक्स्पोमा बीवाईडीको नयाँ ह्याचब्याक कार सार्वजनिक गरिएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडीको नयाँ ह्याचब्याक कार एटो–वान दुई भेरियन्टमा लञ्च गरेको हो ।
तस्बिरमा हेर्नुहोस्







