काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच साझेदारीको घोषणा गरिएको छ । बिहीबार नक्सालमा आयोजित एक विशेष कार्यक्रममा एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाका संस्थापक गगन प्रधानले लगानी सम्झौतामा हस्ताक्षर गरे । सम्झौता अनुसार एनआईबीएल इक्विटी पार्टनर्सले हिमालयन जाभामा २८.८ प्रतिशत इक्विटी हिस्सेदारी लिएको हो ।
यो लगानीको उद्देश्य हिमालयन जाभालाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नुका साथै स्वदेशमै रोजगारी र उद्यमशीलतालाई प्रोत्साहन गर्नु रहेको बताइएको छ । सम्झौता हस्ताक्षरपछि बोल्दै सीईओ पाँडेले भने, “हिमालयन जाभालाई अन्तर्राष्ट्रिय विश्व बजारमा स्थापित गर्न चाहेका छौं, यो हाम्रो दीर्घकालीन प्रतिबद्धता हो ।”
त्यस्तै, संस्थापक गगन प्रधानले यो साझेदारीलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै भने, “एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले हामीलाई विश्व बजारमा पुग्ने थप आत्मबल दिएको छ । यो साझेदारीमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यवसायिक तालिममार्फत दिगो वृद्धितर्फ अघि बढ्ने हाम्रो लक्ष्य छ ।”
सम्झौता अनुसार कम्पनीले विश्व बजारमा विस्तारको थालनी एशिया र अष्ट्रेलियाबाट गर्नेछ । साथै, नेपालभित्र थप नयाँ आउटलेट सञ्चालन गर्ने योजना रहेको छ । नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने रणनीतिको हिस्सा स्वरूप यो लगानी गरिएको एनआईबीएल इक्विटी पार्टनर्सले जनाएको छ ।
सन् १९९९ मा स्थापना भएको हिमालयन जाभाले हाल नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्चस्तरीय कफी हाउस सञ्चालन गरिरहेको छ । यस साझेदारीसँगै हिमालयन जाभाको बिक्री वृद्धि हुने, निर्यात विस्तार हुने र किसानदेखि फ्रेन्चाइज चेनसम्म समावेश हुने सम्पूर्ण पक्षलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।







