काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बीमा कम्पनीहरूको व्यवसायमा सुधार आएको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आव २०८१/८२ को साउन महिनाको तुलनामा २०८२/८३ को साउनमा लघुबाहेकका जीवन बीमा कम्पनीहरूको व्यवसाय ६ दशमलव शून्य १ प्रतिशतले बढेको हो । चालू आवको साउनसम्ममा कम्पनीहरूले २ लाख ८४ हजार १७६ ओटा बीमालेख जारी तथा नवीकरण मार्फत १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

गत आवमा कम्पनीहरूले ३ लाख २२ हजार ७८६ बीमालेख विक्रीबाट १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा जीवन बीमाको व्यवसाय ५ दशमलव ४४ प्रतिशत घटेकोमा चालू आवमा भने सुधार देखिएको हो।

त्यस्तै, यसैगरी चालू आवमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय समेत १ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा कम्पनीहरूले २ लाख १५ हजार २८५ बीमालेख विक्री गरी ४ अर्ब ३१ करोड ८४ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत आवमा कम्पनीहरूले २ लाख २१ हजार ७१ बीमालेख जारी गरी ४ अर्ब २६ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका थिए।

त्यस्तै, ठूला कम्पनीहरूसँगै लघुबीमा कम्पनीहरूले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन्। साउनसम्ममा लघुबीमा कम्पनीहरूले २ लाख ९५ हजार ७०८ ओटा बीमालेख जारी गरी ७ करोड ७३ लाख १५ हजार रुपैयाँको व्यवसाय गरेका छन्। साउनसम्ममा निर्जीवन बीमा अन्तर्गतका ४ लघुबीमा कम्पनीहरूले साढे ७ करोड रुपैयाँको व्यवसाय गरेका छन्।

यस अवधिमा कम्पनीहरूले २८ हजार ४५६ बीमालेख जारी गरी ७ करोड ८२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन्। यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले २ करोड १ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड ८ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७४ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड ९८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको बीमा प्राधिकरणले उल्लेख गरेको छ ।

साथै, व्यवसाय विस्तार भए पनि जीवन बीमा कम्पनीहरूमा सक्रिय जीवन बीमालेखको संख्या भने घटिरहेको छ। चालू आवको साउनसम्ममा कम्पनीहरूमा सक्रिय रहेका जीवन बीमालेखको संख्या १ करोड १४ लाख ७६ हजार ८७६ छ।