काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ ।

केन्द्रीय बैंकले आज कात्तिक १९ गते बुधबार फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो ।

त्यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि: शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकले बताएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

१७५ दिने निक्षेप संकलन उपकरणको २०८३ वैशाख १६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।