काठमाडौँ । जेनजी आन्दोलन देखि बन्द भएको सर्वोच्च अदालत आगामी मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ ।

भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । गत विहिबार बसेको सर्वोच्च अदालतको बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरूको नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरूको २०८२ मङ्सिर १ गते उप्रान्त पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुने भएको छ,’ अदालतको सूचनामा अनुसार, ‘अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पुर्‍याएर सुनुवाइ गरिने व्यहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याइ पाउँ भन्ने निवदेन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो ।