काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पाँचौँ वार्षिक साधारण सभा पुस १४ गते दाङस्थित होटल पौवामा बिहान ९ बजेबाट शुरु हुने गरी बोलाएको छ।

हकप्रद सेयर प्रस्ताव पुनरावलोकनको तयारी

कम्पनीले २०८१ पुस २७ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले पारित गरेको निर्णयअनुसार अहिलेको चुक्ता पुँजीमा ७५ प्रतिशत (प्रति १ सेयरमा ०.७५ सेयर) हकप्रद सेयर जारी गर्ने प्रक्रिया सुरु गरिसकेको छ। सो प्रस्ताव २०८१ चैत २६ मा धितोपत्र बोर्डमा दर्ता भइसकेको छ। तर, यस वर्ष प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजीमा हुने वृद्धि अनुसार हकप्रद अनुपात पुनरावलोकन हुन सक्ने भएकाले, कम्पनीले आगामी साधारण सभाबाट जारी तथा चुक्ता पुँजीसम्बन्धी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि उठाउने जनाएको छ।

अन्य एजेन्डा

आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल र पारित।

लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान, नगद प्रवाह लगायत वित्तीय विवरणहरूको अनुमोदन।

कम्पनीले गरेको गत वर्षको कारोवार अनुमोदन।

सहज सञ्चालन तथा तरलता व्यवस्थापनका लागि संस्थापक सेयरधनीहरूबाट सापटी माग गर्ने प्रस्ताव।

चालु आवका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण।

संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन।