काठमाडौं। जापानको राजधानी टोकियोमा हालै एक अनौठो पसलले सबैको ध्यान खिचेको छ। यो साधारण पसल होइनस संसारमा शायद यस्तै अनौठो प्रयोग गर्न मिल्ने अर्को पसल छैन – जहाँ ग्राहकले खुल्ला चोरी गर्न पाउनेछन्।

पसलभित्र प्रवेश गर्दा प्रत्येक व्यक्तिलाई ६० सेकेन्डको समय दिइन्छ, जसमा पसलका जुनसुकै वस्तु उठाउन सकिन्छ। तर यो अवसर केवल रमाइलो मात्र होइनस यसमा कडा नियम र चुनौतीहरू पनि छन्।

जापान टुडेका अनुसार, यस अनौठो पसलको नाम त्इक् हो। जापानी भाषामा यसको अर्थ “चोरी” सम्बन्धी शब्दसँग जोडिन्छ। पसल मार्च १३ देखि १६ सम्म चार दिनका लागि पुनः सञ्चालनमा आउँदैछ। गत वर्ष पहिलो पटक खुल्दा यो सामाजिक सञ्जालमा भाइरल भएको थियो। मानिसहरू पसलमा चोरी गर्न पाउने आशामा घण्टौँ लाइनमा उभिन बाध्य भएका थिए। यो अवधारणा एक रेडियो कार्यक्रमसँग सम्बन्धित कलाकारहरूको पहलमा सुरु गरिएको हो।

नियम र शर्तहरू

पसलमा प्रवेश गर्न प्रत्येक व्यक्तिले १ हजार येन तिर्नुपर्छ। पसलभित्र प्रवेश गरेपछि, आगन्तुकहरूले ६० सेकेन्डको समयमा कपडा, ग्याजेट, एक्सेसरी वा अन्य सामान उठाउन सक्नेछन्।

तर सबैभन्दा ठूलो चुनौती भनेको पूर्ण मौनता कायम गर्नु हो। पसलका हरेक कुनामा संवेदनशील माइक्रोफोन जडान गरिएको छ, जुन सानो आवाज पनि पत्ता लगाउँछ। यदि आवाज आयो भने व्यक्तिलाई तुरुन्त बाहिर निकालिन्छ, उठाएका सामान फिर्ता गर्नुपर्छ र प्रवेश शुल्क पनि फिर्ता हुँदैन।

सहभागीहरूको अनुभव

गत वर्ष सामाजिक सञ्जालमा भाइरल भएपछि पसलमा ठूलो भीड जम्मा भएको थियो। धेरैलाई घण्टौँ लाइनमा बस्नुपरेको थियो। पसलको वातावरण अन्डरग्राउन्ड बजार जस्तो बनाइएको छ, जसले सहभागिहरूमा उत्साह र तनाव दुवै बढाउँछ। ६० सेकेन्डमा सामान उठाउनु र कुनै आवाज नगरी बाहिर निस्कनु सजिलो काम होइन।

अनुभवीहरूले भन्छन्, सबैभन्दा चुनौतीपूर्ण कुरा सामान उठाउनु होइन, आफूलाई पूर्ण शान्त र नियन्त्रणमा राख्नु नै हो।