काठमाडौं । अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ घटाइएको मूल्य सार्वजनिक गरेको हो । नेपालमा अण्डा उत्पादन बढेको र भारतबाट ठूलो मात्रामा आयात भइरहेको कारणले बजारमा आपूर्ति बढ्दा मूल्यमा गिरावट आएको हो।

नयाँ समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम अण्डा ३३५ रुपैयाँ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४३५ र मिडियम ४०५ रुपैयाँ थियो । त्यसअघि माघ ११ गते ठूलो अण्डा ४९५ र मिडियम ४७५ रुपैयाँसम्म पुगेको थियो ।

मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो समयमा फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँमा बिक्री भएको थियो भने मझौला अण्डा ५५० रुपैयाँमा कारोबार भएको थियो ।

अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा ठूलो मात्रामा भित्रिनु र आन्तरिक उत्पादन बढ्नुले स्वदेशी अण्डाले उचित बजार र मूल्य पाउन नसकेको हो । भारतीय अण्डाको आयात रोक्न संघले सरकारी निकायसँग निरन्तर माग गर्दै आएको छ ।

अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउने गरेको छ । यसअनुसार प्रतिक्रेट लागत मूल्य ५७४ रुपैयाँ ६ पैसा पुग्छ । लागत मूल्यनजिक पुगेको अवस्थामा फेरि अण्डाको मूल्य घटेपछि किसानहरू निराश बनेका छन् ।