काठमाडौं । नेपालमा सञ्चालनमा रहेका २५ वटा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार ती संस्थाहरूले चालु आवको पहिलो ६ महिनामा कुल २ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ५६.२६ प्रतिशत बढी हो। यसअघि सोही अवधिमा ती संस्थाहरूले १ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए।
त्यस्तै, यस अवधिमा २५ वटा लघुवित्त संस्थाले कुल ९ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्, जुन गत वर्षको तुलनामा १५.१८ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष सोही अवधिमा संस्थाहरूले ८ अर्ब २८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए। तथापि, वित्तीय रिपोर्ट सार्वजनिक गर्ने अधिकांश संस्थामा निष्क्रिय कर्जा (एनपीएल) बढेको देखिएको छ। खराब कर्जा वृद्धिसँगै एनपीएल दरमा समेत वृद्धि भएको छ।
चुक्ता पुँजी र जगेडा कोषका आधारमा साना किसान लघुवित्त अग्रस्थानमा रहेको छ। यस संस्थाको चुक्ता पुँजी ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने छिमेक लघुवित्तको ३ अर्ब ६१ करोड ७२ लाख र डिप्रोक्स लघुवित्तको १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा पनि साना किसान लघुवित्त शीर्षमा छ, जहाँ ४ अर्ब २५ करोड ३१ लाख रुपैयाँ संचित छ। त्यसपछि छिमेक लघुवित्तको जगेडा कोष ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ।
ब्याज आम्दानीको आधारमा छिमेक लघुवित्त सबैभन्दा अगाडि देखिएको छ। संस्थाले ६ महिनामा १ अर्ब ४५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७.४५ प्रतिशत बढी हो। दोस्रो स्थानमा डिप्रोक्स लघुवित्त रहेको छ, जसले १ अर्ब ६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ।
नाफामा पनि छिमेक लघुवित्त अग्रस्थानमा छ। संस्थाले ६ महिनामा ५७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा १२.५५ प्रतिशत बढी हो। डिप्रोक्स लघुवित्तले ४४ करोड २९ लाख रुपैयाँ र साना किसान लघुवित्तले ३८ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। प्रतिसेयर आम्दानीको आधारमा अभियान लघुवित्त शीर्षमा रहेको छ, जसको EPS ६१.८९ रुपैयाँ पुगेको छ। यसपछि सपोर्ट लघुवित्तको ५१.८७ रुपैयाँ, डिप्रोक्सको ४७.४१ रुपैयाँ र गुराँस लघुवित्तको ४०.२२ रुपैयाँ भ्एक् रहेको छ। प्रतिसेयर नेटवर्थको आधारमा आत्मनिर्भर लघुवित्त सबैभन्दा उच्च स्थानमा देखिएको छ।
निष्क्रिय कर्जा (एनपीएल) को आधारमा छिमेक लघुवित्त सबैभन्दा बलियो देखिन्छ, जसको एनपीएल २.४५ प्रतिशत मात्र छ। यसका पछि आरएसडीसीको २.८४ प्रतिशत, गुराँस लघुवित्तको ३.१३ प्रतिशत र सपोर्ट लघुवित्तको ३.१७ प्रतिशत एनपीएल रहेको छ। अर्कोतर्फ, नेरुडे मिर्मिरे लघुवित्तको एनपीएल २५.७५ प्रतिशत र मेरो माइक्रोफाइनान्सको १९.४५ प्रतिशत पुगेको छ।
नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था ऐन, २०६३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ। हाल देशमा ६५ भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन्। यी संस्थाहरूले विशेषगरी विपन्न, न्यून आयस्तर भएका व्यक्ति र महिलालाई लक्षित गर्दै वित्तीय सेवा प्रवाह गर्दै आएका छन्।
लघुवित्त संस्थाहरूले सदस्यबाट नियमित बचत संकलन गरी सामूहिक जमानीको आधारमा विनाधितो लघु कर्जा प्रदान गर्छन्। साथै, स्वीकार्य धितोको आधारमा साना व्यवसाय तथा लघुउद्यमका लागि कर्जा उपलब्ध गराइन्छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा पुगेर लघुवित्त संस्थाले वित्तीय साक्षरता, बचत संकलन, कर्जा प्रवाह तथा वित्तीय शिक्षा प्रदान गर्दै आएका छन्।
विगत केही वर्षयता नेपालमा गरीबी न्यूनीकरणका कार्यक्रम भए तापनि, लघुवित्तका कार्यक्रमहरू मुख्यतः ग्रामीण र पिछडिएका क्षेत्रहरूमा केन्द्रित छन्। लघुवित्त बैंकिङ सेवाले औपचारिक बैंकिङ सेवामा पहुँच नपुगेका समुदायलाई नयाँ वित्तीय समाधान उपलब्ध गराएको छ। यसले ग्रामीण र अर्धशहरी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित, भरपर्दो र सहज बैंकिङ सेवा प्रदान गर्दै वित्तीय समावेशीकरणलाई मजबुत बनाएको छ। लघुवित्त संस्थाहरूले ग्रामीण विकास, स्वरोजगार सिर्जना तथा आर्थिक सशक्तीकरणमार्फत राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याइरहेका छन्।







