काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण सेयर आम लगानीकर्तालाई बिक्रीमा ल्याएको जनाएको हो।

जारी गरिएका सेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने ३१ हजार कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन मिल्नेछ। कम्पनीका अनुसार निष्कासन छिटोमा फागुन ११ गते बन्द हुनेछ भने माग अनुसार बढीमा फागुन १९ गतेसम्म खुला रहनेछ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

कम्पनीले यसअघि नै २० करोड रुपैयाँबराबरको, प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता साधारण सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो। सोही स्वीकृतिअनुसार पहिलो चरणमा पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सेयर बिक्री गरिसकिएको छ। अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो।