काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा २५ दशमलव १३ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.११ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २६.७७ प्रतिशत र सञ्चालन मुनाफा २७.९६ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ।
१२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११.५१ प्रतिशत बढेको छ भने कर्जा लगानी ६.५० प्रतिशत बढेको छ।