काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधनलाई निर्बाध सञ्चालन गर्न व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दमकल, एम्बुलेन्स, शववाहन लगायत आपतकालीन सेवामा प्रयोग हुने सवारीसाधनलाई आवतजावतमा कुनै अवरोध नहुने गरी व्यवस्था मिलाइएको छ । साथै खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधन पनि सहज रूपमा सञ्चालन गर्न पाइने जनाइएको छ । यी सवारीका लागि छुट्टै पास आवश्यक नपर्ने आयोगले स्पष्ट पारेको छ ।
त्यसैगरी दूरसञ्चार, विद्युत्, खानेपानी तथा ढल मर्मतसम्बन्धी कार्यमा खटिने सवारीसाधन र अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको घर–अस्पताल आवतजावतमा पनि पास नचाहिने बताइएको छ।
आयोगले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोकेका सवारीसाधनलाई समेत सञ्चालन अनुमति दिएको छ । साथै आयोगले गर्भवती, सुत्केरी, शिशु बोकेकी महिला, अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका एक सहयोगी सहितका सवारीसाधनलाई पनि निर्वाध रूपमा आवतजावत गर्न सहजीकरण गरिने जनाएको छ।







