काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्रबैंकले आज ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत बोलकबोल प्रक्रिया अपनाउँदै उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको अवस्थामा त्यसलाई व्यवस्थापन गर्न यस्तो उपकरण प्रयोग गरिन्छ। यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट प्रतिस्पर्धात्मक बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ।
यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ। निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८२ चैत २५ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलपत्र पेश गर्न सक्नेछन्। संस्थाहरूले एकभन्दा बढी ब्याजदरमा बहुबोलकबोल समेत पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
निक्षेप संकलनका लागि प्राप्त बोलपत्रहरू मूल्याङ्कन गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः उच्च ब्याजदरका बोलपत्रहरूलाई प्राथमिकतामा राख्दै आह्वान गरिएको कुल रकम बराबर निक्षेप बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकका अनुसार यसरी संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो अन्तर्गत पर्नेछ। त्यसैले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा भने गणना गर्न पाइने छैन।







