काठमाडौं। नेपालमा बैंक तथा वित्तीय संस्थाका शाखा देशभरका ७५३ वटै स्थानीय तहमा पुगेका छन्। महानगरपालिका देखि गाउँपालिकासम्म फैलिएको बैंकिङ सञ्जालमा पछिल्लो समय शाखा मर्ज र डिजिटल बैंकिङको अवधारणा तीव्र रूपमा विकास हुन थालेको छ।
बैंकिङ सञ्जालको विकाससँगै यसको कुशल व्यवस्थापन हुनुपर्ने माग बैंक तथा वित्तीय संस्थाहरूले गर्दै आइरहेका थिए। यही पृष्ठभूमिमा उभिएर नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा महानगरपालिकामा बैंकहरूले शाखा कार्यालय मर्ज गर्न सक्ने व्यवस्था गरेको थियो।

शाखा मर्ज गर्नुपर्ने आवश्यकता किन ?
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड र डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका साधनहरूको प्रयोग बढाइरहेका छन्।
बैंकहरूले डिपोजिट मेसिन, एटीएम कार्ड र अन्य डिजिटल सेवा प्रयोगमा ल्याउँदै ग्राहकलाई भौतिक रूपमा शाखामा आउनुपर्ने आवश्यकतालाई हटाउँदै वा भनौँ कम गर्दै गइरहेका छन्।
यसै कारण बैंकहरूले नजिक-नजिक रहेका शाखा मर्ज गर्न नीति र सुविधा माग गर्दै आएका छन्।
९ वटा बैंकले गरे शाखा मर्ज गर्ने निर्णय
उपलब्ध पछिल्लो तथ्यांकअनुसार हालसम्म महानगरपालिका भित्र रहेका ९ वटा बैंकका करिब १३७ वटा शाखा मर्ज गर्ने निर्णय भइसकेको छ। जसअन्तर्गत एनआईसी एशिया बैंकले ४४ शाखा मर्ज गर्ने भएको छ।
बैंकका काठमाडौंमा २६, ललितपुरमा ६, पोखरामा ६, विराटनगरमा ३, वीरगञ्जमा २ र भरतपुरमा १ शाखा मर्ज गरिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यका अनुसार मर्जरले वार्षिक करिब १८–२० करोड रुपैयाँ खर्च बचत हुने देखिएको छ।
यस्तै, कुमारी बैंकले २४ शाखा मर्ज गरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १८, प्रभु बैंकले १४, हिमालयन बैंक र ग्लोबल आइएमई बैंकले ८/८, नबिल बैंक र प्राइम बैंकले ७/७ र एनएमबि बैंकले ४ वटा शाखा मर्ज गर्ने भएको छ।
शाखा मर्ज गर्नुका यस्ता छन् फाइदा
बैंक तथा वित्तीय संस्थाहरूले शाखा मर्ज गर्ने निर्णय केवल शाखा संख्या घटाउने कदम मात्र नभई दीर्घकालीन रणनीतिक सुधारको हिस्सा भएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
एउटै क्षेत्रभित्र नजिक–नजिक रहेका शाखाहरूलाई एकीकृत गर्दा बैंकहरूको सञ्चालन खर्च उल्लेखनीय रूपमा घट्ने देखिन्छ। भाडा, कर्मचारी व्यवस्थापन, सुरक्षा, विद्युत्, प्रशासनिक खर्च जस्ता शीर्षकहरूमा हुने बचतले बैंकको समग्र वित्तीय अवस्था सुदृढ बनाउन सहयोग पुर्याउँछ। यसले अन्ततः बैंकको नाफा बढाउन मात्र होइन, सेवाको गुणस्तर सुधार गर्न पनि आधार तयार गर्छ।
शाखा मर्जको अर्को महत्वपूर्ण फाइदा भनेको स्रोत र साधनको प्रभावकारी उपयोग हो। धेरै शाखामा छुट्टाछुट्टै रूपमा प्रयोग भइरहेका जनशक्ति, प्रविधि र व्यवस्थापन क्षमतालाई एकीकृत गर्दा कामको दोहोरोपन घट्छ र दक्षता बढ्छ।
यसले बैंकलाई सीमित स्रोतबाट अधिकतम उत्पादन लिन सहयोग पुर्याउँछ। साथै, एउटै शाखामा अनुभवी कर्मचारीहरू केन्द्रित हुँदा निर्णय प्रक्रिया छिटो र प्रभावकारी बन्ने अपेक्षा पनि शाखा मर्जको अवधारणाबाट गर्न सकिने एक बैंकिङविद्ले बताए।
विज्ञहरुका अनुसार, डिजिटल बैंकिङ विस्तारसँगै शाखा मर्जले झन् बढी अर्थ राख्छ। अहिले ग्राहकहरू मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड तथा डिजिटल वालेटमार्फत अधिकांश कारोबार गर्न सक्षम भइसकेका छन्।
यस्तो अवस्थामा भौतिक शाखाको अत्यधिक आवश्यकता नपर्ने भएकाले शाखा घटाएर डिजिटल पूर्वाधारमा लगानी बढाउनु बैंकहरूको लागि बढी उपयोगी रणनीति बन्न गएको छ। यसले सेवा वितरणलाई छरितो, सहज र समय–बचतयुक्त बनाउँछ।
यसका साथै, शाखा मर्जले ग्राहक सेवाको गुणस्तर सुधार गर्न पनि मद्दत पुर्याउन सक्छ। जब धेरै साना शाखाहरूको सट्टा व्यवस्थित र स्रोतसम्पन्न ठूला शाखा सञ्चालनमा आउँछन्, त्यहाँ सेवा दिने क्षमता, प्रविधि र दक्ष जनशक्ति बढी उपलब्ध हुन सक्ने अपेक्षा गर्न सकिन्छ। यसले ग्राहकले एकै स्थानबाट धेरै सेवा छिटो र प्रभावकारी रूपमा पाउने सम्भावना बढाउँछ।
अर्कोतर्फ, शाखा मर्जले बैंकहरूलाई प्रतिस्पर्धात्मक बनाउन पनि सहयोग गर्छ। सञ्चालन खर्च घटाएर बचत भएको रकमलाई नयाँ प्रविधि, डिजिटल सुरक्षा, नवप्रवर्तन र ग्राहक सेवामा लगानी गर्न सकिन्छ। यसले बैंकलाई बदलिँदो बजार र प्रविधिसँग अनुकूल हुन मद्दत गर्ने अपेक्षा गरिएको छ।







