काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको चालु खाता उल्लेखनीय रूपमा बचतमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फागुन मसान्तसम्म चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा पुगेको हो।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो। गत वर्ष यही अवधिमा चालु खाता १ खर्ब ९७ अर्ब ३ करोड रुपैयाँले मात्र बचतमा थियो। अमेरिकी डलरमा पनि चालु खातामा सुधार देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ४६ करोड डलर बचत रहेकोमा चालु वर्षको समीक्षा अवधिमा यो बढेर ३ अर्ब ८८ करोड डलर पुगेको छ।
त्यसैगरी, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ४१ करोड रुपैयाँ थियो। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि वृद्धि भएको छ। चालु वर्षको आठ महिनामा १० अर्ब ८४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिँदा अघिल्लो वर्ष यही अवधिमा यस्तो लगानी ८ अर्ब ४७ करोड रुपैयाँ थियो।
यसैबीच, शोधनान्तर स्थिति पनि मजबुत देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँ मात्र थियो। अमेरिकी डलरमा शोधनान्तर बचत २ अर्ब २९ करोडबाट बढेर ४ अर्ब ६१ करोड पुगेको छ।







