काठमाडौं। सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको असहजता समाधान गर्न शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, मन्त्रिपरिषद् बैठकले आइतबार यस सम्बन्धमा निर्णय गरेको हो र भोलि (चैत २३ गते)बाट यो आदेश लागू हुनेछ।
प्रवक्ता पोखरेलले भने, “पेट्रोलियम आपूर्तिमा असहजतालाई मध्यनजर गर्दै प्रशासनिक तथा शैक्षिक कार्यमा सहजता सुनिश्चित गर्न शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको हो।”
बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन। मन्त्री पोखरेलले बैठकका अन्य महत्त्वपूर्ण निर्णयहरूबारे पनि जानकारी दिए।
यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने निर्णय पनि आजको बैठकमा गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो।
शिक्षामन्त्री पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी दिए।







