काठमाडौँ। अबदेखि एउटै विद्यालयमा एकपटक भर्ना भइसकेपछि विद्यार्थीबाट बारम्बार भर्ना शुल्क असुली गर्न नपाइने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस सम्बन्धमा निर्देशनात्मक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू भएको जनाएको हो।

मन्त्रालयका अनुसार, कतिपय विद्यालयले एउटै विद्यार्थीबाट पटक पटक भर्ना शुल्क लिने गरेको गुनासो आएका कारण यस्तो कदम चालिएको हो। साथै, शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना गर्न र अग्रिम शुल्क असुली गर्न पनि रोक लगाइएको छ।

त्यस्तै, निर्धारित भन्दा बढी शुल्क असुली, भिन्न शीर्षकमा शुल्क लिने वा नियमविपरीत अग्रिम शुल्क लिने विद्यालयहरूलाई कारबाही गर्ने व्यवस्था गरिएको छ।

यदि यस्ता नियम उल्लङ्घन भएमा स्थानीय तहहरूले तत्काल शुल्क फिर्ता गराउने र उल्लङ्घन गर्ने विद्यालयविरुद्ध कारबाहीको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराउने निर्देशन मन्त्रालयले दिएको छ।