काठमाडौँ। कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले चैत २२ गतेदेखि ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो।

यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्ड बाट प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित बासिन्दा र ८२ हजार ५०० कित्ता विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याएर वितरण गरिसकिएको छ।

कम्पनीले ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता आफ्ना कर्मचारीका लागि सुरक्षित राखी बाँकी सेयर सर्वसाधारणलाई उपलब्ध गराएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई दिइएको छ।

आवेदन सी-आस्बा प्रणाली मार्फत स्वीकृत बैंक तथा वित्तीय संस्थाका शाखाबाट गर्न सकिन्छ। साथै मेरो सेयर प्रयोग गरेर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।