काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ ‘बिचुटे डाटा भोल्ट’ (Bichuten Data Vault – BDV) ले नेपालको पहिलो टियर IV (Tier IV) हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । यो पहलले नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको यस स्वदेशी कम्पनीले नेपालको आफ्नै डिजिटल सार्वभौमिकता (Data Sovereignty) र सुरक्षित भविष्य निर्माणको संकल्प लिएको छ ।
परियोजनाका मुख्य विशेषताहरूः
अन्तर्राष्ट्रिय गुणस्तर: यो नेपालकै पहिलो टियर IV प्रमाणित डाटा सेन्टर हुनेछ, जसले ९९.९९५% ‘अपटाइम’ (Uptime) को सुनिश्चितता प्रदान गर्दछ। यसको अर्थ वर्षभरिमा २६ मिनेट भन्दा कम मात्र प्राविधिक अवरोध हुन सक्छ, जसले बैंकिङ र दूरसञ्चार जस्ता संवेदनशील क्षेत्रका लागि उच्चतम विश्वसनीयता प्रदान गर्दछ ।
विस्तार र क्षमता: यो परियोजना काठमाडौं (साइट १) र वीरगन्ज (साइट २) गरी दुई रणनीतिक स्थानहरूमा रहनेछ | २४० किलोवाट क्षमताबाट सुरु भई सन् २०३० सम्ममा यसलाई ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ ।
विश्वव्यापी साझेदारी: प्रविधि र विशेषज्ञताका लागि कम्पनीले भीभीडीएन (WVDN Technologies), गुगल क्लाउड (Google Cloud), एएमडी (AMD) र माईक्रोन (Micron) जस्ता विश्वविख्यात प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको छ ।
स्वदेशी प्रविधि र रोजगारी : यो पूर्वाधारले नेपालमा सूचना प्रविधि (IT) र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नेछ । साथै, भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याब्लेट जस्ता उपकरणहरू उत्पादन गर्ने कम्पनीको दूरगामी लक्ष्य रहेको छ ।
डिजिटल सार्वभौमिकता र सुरक्षाः “डाटा नै कृत्रिम बौद्धिकता (AI) र डिजिटल रूपान्तरणको आधार हो” भन्ने मान्यताका साथ बिचुटे डाटा भोल्टले नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने (In-country Data Residency) सुनिश्चित गर्नेछ । यसले विदेशी सर्भरमाथिको निर्भरता कम गरी राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनेछ ।
वातावरण मैत्री पूर्वाधारः यो डाटा सेन्टर ऊर्जा-दक्ष र पूर्णतया नेपालको जलविद्युतमा आधारित हुनेछ, जसले दिगो र वातावरण मैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नेछ।
बिचुटेन डाटा भोल्ट (BDV) को बारेमा: बिचुटेन डाटा भोल्ट प्रा. लि. एक नेपालमा आधारित निजी कम्पनी हो, जसले सुरक्षित, मापनयोग्य (Scalable) र विश्वस्तरीय डिजिटल पूर्वाधार निर्माण गरिरहेको छ । ‘बिचुटेन’ नाम भगवान विष्णुको जापानी बौद्ध नामबाट लिइएको हो, जसले “रक्षक” को प्रतिनिधित्व गर्दछ । कम्पनीको मुख्य उद्देश्य नेपालको डिजिटल भविष्यलाई सुरक्षित र आत्मनिर्भर बनाउनु हो ।






