काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाइएको छ।

प्रहरी स्रोतका अनुसार इन्टरपोलले थप कागजात मागेपछि नेपाल प्रहरी अन्तर्गतको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले आवश्यक विवरण पठाइसकेको छ। केही दिनअघि इमेलमार्फत कागजात माग गरिएकाले त्यसअनुसार पूरक कागजात पठाइएको जनाइएको छ।

यसअघि चैत २४ गते काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसका आधारमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोहीपछि उनीहरूलाई नेपाल ल्याउने कानुनी प्रक्रिया सुरु गरिएको हो।

एनसीबीले रेड नोटिसका लागि औपचारिक रूपमा इन्टरपोलसँग समन्वय गरे पनि आवश्यक कागजात अपुग भएको भन्दै नोटिस जारी भइसकेको छैन।

पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमै रहेको बताइएको छ। उनीहरू उपचारको बहानामा फागुन १४ गते सिंगापुर गएका थिए र त्यसपछि चैत ७ गते हङकङ पुगेको स्रोतले जनाएको छ। हालसम्म उनीहरू स्वदेश फर्केका छैनन् र हङकङमै रहेको अनुमान गरिएको छ।

यदि रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीहरूलाई नियन्त्रणमा लिन सक्नेछन्। त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने व्यवस्था हुने बताइएको छ।