काठमाडौँ । नेपालमा वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले जानकारी दिएकी छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले १८ जिल्लामा करिब २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको र करिब ६० हजार जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको बताइन्।
मन्त्री यादवका अनुसार नेपालमा उत्पादन हुने चियामध्ये ८० देखि ९० प्रतिशत भारतमा निर्यात हुँदै आएको छ। तर भारतले आयातित चियामा अनिवार्य गुणस्तर परीक्षण लागू गरेपछि नेपाली चिया निर्यात प्रभावित भएको उनले बताइन्।
उनका अनुसार परीक्षण प्रतिवेदन नआएसम्म चिया गोदाममै राख्नुपर्ने अवस्थाले गुणस्तरमा असर पार्नुका साथै व्यापार लागत पनि बढाएको छ। समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको र पुरानै सहज निर्यात व्यवस्था पुनःस्थापना गर्न आग्रह गरिएको उनले जानकारी दिइन्।






