काठमाडौँ । निर्माण व्यवसायीहरूले निर्माणको भुक्तानी माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन् । व्यवसायीहरूले निर्माणको भुक्तानीसहित ९ बुँदे माग राख्दै विभागको कार्यालयमा आज सोमबार पनि धर्ना दिएका हुन् ।

सरकारले निर्माण व्यवसायीहरूका आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने व्यवसायीहरूले चेतावनी दिए । धर्ना कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सडक विभागमा तालाबन्दी गर्ने आफ्नो अधिकारलाई सरकारले नदिएको बताए । उनले सरकारले सडक विभागसम्म जान नदिए सडक जाम गर्ने चेतावनी दिए ।

‘आज हाम्रो आन्दोलनको १६ औँ दिन हामी सडक विभागमा धर्नामा छौँ । हामीलाई जुन तालाबन्दी गर्ने अधिकार छ, त्यो अधिकारबाट पनि यो गणतान्त्रिक सरकारले हामीलाई वञ्चित गरेको छ । सडकमै बस्न बाध्य भएका छौँ । सरकारले रोक लगाउँछ र गेटसम्म पनि पनि बन्द गर्न नदिए सडक नै जाम गर्न बाध्य हुनेछौँ । हाम्रो कार्यक्रमले जनतालाई असर नपरोस् भनेर कार्यक्रम गरिरहेका छौँ ।’ उनले भने ।

सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टेन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दाबाद लेखेको प्लेकार्ड बोकेर व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् ।