
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
आइतबार बसेको समितिको बैठकले अध्यागमनसम्बन्धमा विद्यमान ऐन परिमार्जन, मानव तस्करी रोक्ने, भिसा समस्या समाधान गर्ने लगायतका विषयमा निर्देशन दिएको जानकारी दिएको छ।
विमानस्थल लगायतका ठाउँको अध्यागमन सहज र सरल बनाउन पनि गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको छ। त्यस्तै, बैठकले विमानस्थलमा अपुग जनशक्ति व्यवस्थापन गर्न संघीय मामिला तथा प्रशासन मन्त्रालयसँग समन्वय गर्न निर्देशन दिएको छ।
विमानस्थलमा बाहिरबाट आउँदा भिड नदेखिने गरी आवश्यक प्रबन्ध गर्नसमेत समितिले निर्देशन दिएको छ। समिति सभापति रामहरि खतिवडाका अनुसार खुला सीमा सुरक्षा कडा बनाउन सरकारले आवश्यक समन्वय गर्ने गरी निर्णय भएको छ।
समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरूवा गरिएका कर्मचारी विमानस्थल अध्यागमनमा जानै नमानेको गुनासो गरेका थिए। विमानस्थलमा कर्मचारीमाथि कुटपिट गर्ने प्रहरीलाई पुरस्कृत गरिएको विषयमा सांसदहरूले उठाएको प्रश्नमा प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले त्यसबारे छानबिन गरिरहेको जवाफ दिएका छन्।
त्यस्तै, सडकमा बसेर माग्नेहरूलाई व्यवस्थित गर्न पनि समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ। अहिलेका धेरै बेथितिको कारण गृह नेतृत्व नै रहेको भन्दै सांसद रवि लामिछाने श्रेष्ठमाथि खनिएका थिए।






