काठमाडौं । निजामती सेवाबाट श्रेणी हटाएर तहगत संरचना रहने ब्यवस्था गरिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले यस्तो निर्णय गरेको हो । संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफलका क्रममा तहगत संरचना राख्ने सहमति जुटेको हो ।
निजामती सेवामा अब तहगत संरचना राख्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दलका सांसदहरू सहमत भएका छन् । प्रस्तावित विधेयकको दफा ६ मा यससम्बन्धी व्यवस्था राखिनेछ ।
यो दफामाथिको छलफलको अन्तिममा सभापति रामहरि खतिवडाले भने, ‘तहमा जानेमा क्लियर भयो । अब प्रस्तावित विधेयकको दफालाई तहगत संरचना रहने गरी मिलाइनेछ ।’
तर, निजामती सेवामा अतिरिक्त सचिव राख्ने कि नराख्ने विषयमा भने सहमति जुटेन । सभापति खतिवडाले तहगत संरचनामा जानेमा सहमति भएको र अतिरिक्त सचिव राख्ने कि नराख्नेबारे पुनः छलफल गरिने जानकारी गराए ।







