काठमाडौँ। सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था गरिदिन भन्दै उक्त सहकारीका पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् ।
बिहीबार सूर्य दर्शन बचत पीडित संघर्ष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा समक्ष निवेदन दिएका हुन्। उक्त सहकारीले १८ हजार ७०० बचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भए पनि विगत २ वर्ष यता कसैले पनि फिर्ता पाउन नसकेको पीडितहरूले निवेदनमा उल्लेख गरेका छन् ।
सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा तिसौँ करोड रुपैयाँ लगानी भएको देखिए पनि यस विषयमा आर्थिक, नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बनेको भन्दै पीडितहरूले आफूहरूले न्याय पाउनुपर्ने बताएका छन् ।
रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई(जिबि राई) पक्राउ पर्न नसकेका भन्दै उनीहरूले राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
पीडितहरूको निवेदन बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राज्यले पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताए। सरकारले पीडितको पक्षमा न्याय गर्ने खतिवडाले विश्वास दिलाएका छन्। गृहमन्त्री रवि लामिछानेले कुनै समय सहकारी पीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको भन्दै आफैँ सरकारमा भएको बेलामा समस्या समाधान गरिदिए राम्रो हुने पीडितको भनाई छ।











