काठमाडौँ । पछिल्लो दुई हप्ता यता नेपाली बजारमा सुनको मूल्य घटबढ हुनेक्रम निरन्तर रूपमा चलेको छ । एक हप्ताको समयावधिलाई हेर्ने हो भने सुनको मूल्य १ लाख ३५ हजार देखि ३७ हजारसम्मको आसपासमा चलेको देखिएको छ। अर्थात् साताभरमा २८ सयले घटबढ भएको देखिएको छ ।
वैशाख महिनालाई लगनको महिनाको रूपमा हेरिने गरिन्छ । लगनको महिनामा सुनको कारोबार बढ्ने अपेक्षा राखिन्छ तर वैशाख महिना समापनको नजिकै पुग्दा समेत सुनको कारोबारमा खासै सुधार आउन नसकेको व्यवसायीहरूको भनाई ।
वैशाख महिना लगनको महिना भएपनी महिनाभर लगनको दिन नहुनाले समेत अन्य वर्षको वैशाखको जस्तो कारोबार यस वर्षको वैशाखमा हुन नसकेको व्यवसायीहरू बताउँछन् । वैशाख ८ र ९ मा प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ मूल्य कायम भएर हालसम्मकै बढी मूल्यको कीर्तिमानी कायम भएको सुनको मूल्य बिस्तारै घट्ने क्रममा रहेको छ ।
आर्थिक भ्वाईससँगको कुराकानीमा सुनको मूल्य १ लाख ५० हजारसम्म जान सक्ने आकलन गरेका नेपाल सुनचाँदी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले आर्थिक मन्दीको कारण सुनचाँदीको बढ्दो मूल्यमा ब्रेक लागेको बताएका छन् । शाक्यले सुनको बजारमा मध्यम लगानीकर्ता रहेको र हाल देखिएको आर्थिक मन्दीको प्रभावले उनीहरू समेत मारमा परेको कारण बजारमा कारोबार बढ्न नसकेको बताएका छन् । शाक्यले नेपाली बजारमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत सुनको कारोबार घट्ने क्रममा रहेका बताएका छन् ।
आर्थिक भ्वाईसकर्मी जसिन्द्र श्रीपालीसँगको कुराकानीमा महासंघ अध्यक्ष शाक्यले बजारमा आएको मूल्यको उतारचढावका कारण मान्छेमा सुनप्रतिको लगानीको विश्वास गुम्दै जान थालेको बताएका छन् । सुनको मूल्यमा दैनिक रूपमा उतारचढाव देखिएको छ , यसले एउटा लाइन समाएर जान सकेको अवस्था छैन यस्तो बेलामा लगानीकर्तालाई निरुत्साहित पार्ने काम हुने रहेछ , मूल्य अस्थिर बनिरहँदा मध्यम लगानीकर्ताको ऊर्जा निराशामा परिणत हुन गएको छ फलस्वरुप त्यसको असर कारोबारमा देखिन गएको छ।’ शाक्यले भने
मान्छेको चेतना स्तरमा परिवर्तन आएको अवस्था छ । अहिले विवाहमा सुन नै लाउनुपर्छ भन्ने जमात छैन , वैकल्पिक रूपमा बजारमा पाइने सुन जस्तै देखिने पहेँलो धातुले सुनको प्रयोगलाई थप विस्थापित गर्न सहयोग पुर्याएको छ । मान्छेहरू सुनचाँदी लगाउने झकिझकाउ देखिने भन्दा बरु राम्रो लाउने , मिठो खाने भन्नेतिर लाग्न थाले त्यसकारणपनी बजारमा कारोबार घटिरहेको छ । शाक्यले आफ्नो अनुभूति सुनाए ।
अन्तर्राष्ट्रिय कारणहरू जिउँदै छन् , सुनको मूल्यमा प्रभाव पार्ने ती विद्यमान कारण हलचल नभएको कारण पनि मूल्य भारी मात्रामा घट्न सकेको छैन , अर्कातिर हाम्रो नेपाली बजारलाई हेरेर कुरा गर्ने हो भने सुन किन्ने भनेकै मान्छेले आफ्नो दैनिक प्रयोगमा आउने काम तारेर बचेको रकमबाट हो तर अहिले त्यस्तो अवस्था छैन । आर्थिक मन्दीको कारण मान्छेसँग आवश्यकता तारेर समेत सुन्न किन्न सक्ने पर्याप्त पैसा छैन त्यो वातावरण नहुँदा त्यसको प्रभाव कारोबारमा प्रत्यक्ष रूपमा असर पुन गएको देखिन्छ । शाक्यले आफ्नो भनाइमा थप स्पष्ट पार्दै भने ।
हालको अवस्थामा ९८ प्रतिशत मान्छेको आयस्रोत कमजोर भएको छ । ठुला धनराशि भएकाहरू सुनको बजारको नियमित लगानीकर्ता होइन, यहीँ ९८ प्रतिशत भित्रका मान्छे नै हाम्रो बजारको लगानीकर्ता हुन त्यसो हुँदा घरायसी आवश्यकता बाकी राखेर सुनको कारोबार गर्ने कुरा आएन । अहिलेको चर्को बजार भाउले सबैको ढाड सेकेको छ । बजारमा अलि अलि भएको कारोबार पनि नयाँ किन्नेको भन्दा पुरानोलाई नै मर्मत गरे नयाँ आकार दिनेहरूको छ । आम्दानीको स्रोत भन्दा मन्दीको रफ्तार बढी भएकै कारण बजार सुस्ताएको हो । यसर्थ तत्काल बजारमा सुधार आउने अवस्था देखिएको छैन । अध्यक्ष शाक्यले भने ।







